वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको छ : लिना चालिसे

भदौ १६,काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताउनुभयो । उहाँले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शुन्य बराबर रहेको बताउनुभयो । उहाँले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमीक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताउनुभयो ।

उहाँले साउन १ गतेदेखि सर्वसाधारणका लागि सञ्चालन गरेपनि चिडियाखाना भित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताउनुभयो । उहाँले मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्नको लागि अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणहरुलाई प्रवेश गराइएको जानकारी दिनुभयो ।

सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न ईसेवाबाटै टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ । त्यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई ४ भागमा बाँडेर हरेक भागमा ५/५जना कर्मचारी खटाइएको र अवलोकन कर्ताले सामाजिक दूरी कायम गरेको छ/छैन, जनावरलाई खानेकुरा दिएको/नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताउनुभयो ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उहाँले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको बताउनुभयो । उहाँले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताउनुभयो । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उहाँको भनाइ छ ।

अहिले चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताउनुभयो । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।

 

 

Spread the love