पर्यटक व्यवसायीहरुको पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग

भदौ २१,काठमाडौ ।  पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन । संघका अध्यक्ष लामाले पिसिआर टेष्ट गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर टेष्ट गरी तत्काल गन्तब्यमा पुर्‍याउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नु भयो । उहाँले पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

संघले टुरिष्टहरुका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलहरुको व्यवस्था मिलाउन सस्तो ब्याजदरमा लोन प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ । अध्यक्ष लामाले पर्यटन क्षेत्रमा आवद्ध भएकाहरुलाई विना धितो लोनको व्यवस्था गर्नुपर्ने माग समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘ट्राभल, ट्रेकिङ र होटलहरुलाई चाँही सस्तो ब्याजदरमा लोन प्रवाह गर्नुप¥यो । अव माउन्टेन र माउन्टेन गाईडहरुका लागि विना धितो लोनको व्यवस्था गर्नुपर्दछ ।’

यता, हिम आरोही सानु शेर्पाले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी आवश्यक वातावरण बनाउन सरकारलाई दवाव दिनु भयो । उहाँले १० दिनसम्म क्वारेन्टाईनमा बस्ने व्यवस्था गरेर विदेशी पर्यटकहरु नेपाल आउने अवस्था नआउनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

ट्रेकिङ गाइड फूडोमा शेर्पाले जसरी भएपनि विदेशी पर्यटक आउने गरी आवश्यक वातावरण बनाउन सरकारसँग आग्रह गर्नु भयो । उहाँले विदेशी पर्यटकहरु नेपाल नआएकै कारण नेपालको पर्यटन क्षेत्र थला परेको पनि स्मरण गराउनु भयो ।

पर्यटक व्यवसायीहरुले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढदा नेपालको पर्यटक क्षेत्र फष्टाएर जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन

Spread the love