पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला

भदौ २५ ,काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरुका लागि खुला गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका छन । मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गतेबाट भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरुले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

Spread the love