बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिन पुष्प व्यवसायीको सरकारसँग माग

भदौ ३०,काठमाडौ । सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिने हो भने कोरोनाले थलिएका धेरै व्यवसाय मध्ये पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरुले बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९ औँ वार्षिक साधारण सभामा पुष्प व्यसायीहरुले यस्तो बताएका हुन् । व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरुका लागि कुनै नीति नियम नबनाएको बताएका छन् ।

पुष्प व्यवसायमा पनि सबैभन्दा धेरै क्षति कट पुष्प को क्षेत्रमा भएको बताएका छन् । सरकारले निषेधाज्ञा हटाएकोले बिस्तारै पुष्प व्यवसायले गति लिइरहेको व्यवसायीहरुको धारणा छ । कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरै मानिसहरुले रोजगारी गुमाएको भन्दै व्यवसायीहरुले सरकारले पुष्प व्यवसायलाई कृषिमा राख्न माग गरेका छन् ।

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ । व्यवसायीहरुले सरकारसँग राहत प्याकेजको कार्यक्रमको अपेक्षा राखेपनि सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताएका छन् । उनीहरुले सरकारले पुष्प व्यवसायीलाई राहत दिनको लागि बीमा गरिदिने र नीति नियम र दरिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

Spread the love