८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान शुरु

असोज ४,काठमाडौ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुचारु गरेको छ ।

एयरलाइन्सले आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित असोज १ गते शुक्रवारबाट आफ्नो नियमित आन्तरिक उडान शुरु गरेको हो । एयरलाइन्सले पहिलो उडानको रुपमा काठमाडौं–चितवन गरेको छ भने दोस्रोमा काठमाडौं–पोखरा उडान भरेको छ । एयरलाइन्सका सिइओ बालकृष्ण श्रेष्ठले गुण एयरलाइन्स कसैसँग प्रतिष्पर्धा गर्नका लागि नआएको बताउनुभयो ।

उहाँले एयरलाइन्सले कोरोनाको पेन्डामिक समयमा आम मानिसमा पर्न गएको असरलाई मध्यनजर गर्दै पाँच जेट स्ट्रिम र दुई विचक्राफ्ट सञ्चालनमा ल्याएको बताउनुभयो । सिइओ श्रेष्ठले जनतालाई सुरक्षा, प्यासेन्जरलाई मनोरञ्जन दिने नै गुण एयरलाइन्सको मुख्य लक्ष्य भएको बताउनुभयो । उहाँले पुरानो ब्राण्डबाटै चलाउन उपयुक्त हुन्छ भन्ने सोचले लामो समयपछि उडान भरेको जानकारी दिनुभयो ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताउनुभयो । उहाँले पहिला आफूसँग भएको अमेरिकन विचक्राफ्ट र नयाँ जेट स्ट्रिम पाँच वटा थप गरेर ७ वटा विमान सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले तत्कालका लागि भरतपुर र पोखरा उडान भरिरहेको तर अन्तिम एक हप्तापछि विराटनगर, भैरहवा, सिमरा, तुम्लिङ्गटार र सुर्खेत लगायतका स्थानमा उडान भर्ने बताउनुभयो ।

गुण एयरलाइन्समा काठमाडौंबाट चितवनसम्म पुगेका यात्रुहरुले एयरलाइन्सको सेवाहरु राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले गुण एयरलाइन्सको सर्भिस राम्रो भएकोले सबैलाई एकपटक यसको सर्भिस लिन सुझाएका छन् ।

गुणसँग २ विचक्राफ्ट १८ सिटको क्षमताका छन् भने जेटस्ट्रिम ३० सिट क्षमताका हुन् । २००९ मा स्थापना भएको गुण एयरलाइन्स २०१३ मा सिम्रिकमा परिवर्तन भएको थियो । कोरोनाको महामारी जारी नै रहेको कारण एयरलाइन्सले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपनाएरु एडान शुरु गरेको हो ।

 

Spread the love