समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती छ : जनार्दन शर्मा

असोज ५,काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले   समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ ।

मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको बताउनुभएको छ । उहाँले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताउनुभयो । आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उहाँले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महिना कम्तिमा दश प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताउनुभयो । खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफुले प्रयास गरिरहेको उहाँको भनाई छ । उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुल्ला गर्नुपर्ने बताउनुभयो । राष्ट्र र जनताको अहितसँग सम्बन्धित सर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा समेत विचार गर्नुपर्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले विश्वविद्यालय अनुसन्धान केन्द्रीत हुनुपर्ने बताउनुभयो । मन्त्रालयले अनुसन्धानका विभिन्न शाखा बनाउनुपर्ने कुराको अन्त्य गर्दै विश्वविद्यालयलाई अनुसन्धानमा क्रियाशील गराउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले विकास निर्माणको काममा जनतालाई जोड्नेगरी श्रम सहकारी बनाएर काम गराउने वातावरण बनाउने प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

 

Spread the love