नेप्से परिसूचक सामान्य अंकले गिरावट

मङ्सिर १४,काठमाडौं । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।

मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १ दशमलव ६४ अंकले घटेर २ हजार ६२८ दशमलव ३७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । सोमबार २१दशमलव ४८ अंकले घटेर २ हजार ६२९ दशमलव ९८ अंकमा ओरालो लागेको थियो । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४० दशमलव ८८, फाइनान्स ८ दशमलव ८९, निर्जीवन बीमा ९६ दशमलव ६ र अन्य समूहको १४ दशमलव ११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव  ९५ र जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ६४ अंकले घटेको छ । आज कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Spread the love