त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा

मङ्सिर १५,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो । बुधबार सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताउनुभयो । मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्र्नु परेको स्पष्ट पार्नु भयो । विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उहाँले बताउनुभयो । बस सेवा छोटो समयको लागि नभइै दीर्घकालिन रुपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताउनुभयो ।

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गर्नुभयो । मन्त्री आलेले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको बताउनुभयो ।

त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गर्नुभएको छ । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर,उनीहरुको लागि राज्यबाट विदेश जानको लागि समेत कुनै सुविधा प्रदान नगरेको बताउनुभयो।

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन् । सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।

Spread the love