काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।
विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचना प्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षति समेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफाल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।