काठमाडौं । दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ । जसका कारण टिकट बुकिङमा उच्च मागदेखिएको छ ।
नेपालका प्रमुख एयरलाइन कम्पनीहरूले ईन्धनको मूल्य वृद्धि र चाडपर्वका कारण चाप बढेको कारण देखाउँदै टिकटको मूल्य दर बढाउने गरेका छन् । घरेलु एयरलाइन्सहरूले दशैँको समयमा यात्रुहरूको उच्च मागलाई मध्यनजर गर्दै हवाई टिकटको मूल्यमा ५० देखि ६८ प्रतिशतसम्म वृद्धि गरेका छन् ।
दशैँको अवसरमा काठमाडौं–धनगढी उडानको टिकट मूल्य रु ७,५०० बाट बढेर रु १७,००० सम्म पुगेको छ । काठमाडौंबाट पोखरा उडानको टिकट १० देखि १५ हजारसम्म पुगेको छ ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ तर त्यसको पालना नहुँदा बर्षेनी यात्रुहरु मारमा परेका छन् । यसले विशेषगरी विद्यार्थी, कर्मचारी र कम आय भएका यात्रुहरूलाई मर्का पुगेको यात्रुहरु बताउछन् ।
काठमाडौंबाट नेपालगञ्जसम्मको यात्रा गर्दै गरेका उमेश पौडेलले सामान्य समयमा पाँच हजारमा यात्रा गर्ने गरेको भएपनि दशैँमा घर जाँदा यस पटक १३ हजार १ सयको टिकट किनेका छन् । देशका विभिन्न सडकमार्ग अवरुद्ध हँुदा बाध्यताले हवाई यात्रा गर्नु परेको उनी बताउँछन् ।
पौडेलले चर्को मूल्यमा टिकट लिन पनि समस्या भएको भन्दै जसोतसो गरी ट्रावल एजेन्सीको सहयोगबाट आफूले टिकट पाएको बताए।
सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन नेपालका प्रमुख एयरलाइन कम्पनीहरूलाई आग्रह समेत गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न भनिएपनि कार्यान्वयन नभएको यात्रुहरुको गुनासो छ ।
उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरु दशैँको दिनसम्म बसपार्कमा कुरिरहेने अवस्था रहेको छ ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरण दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको भएपनि त्यो कार्यान्वयन भएको छैन् । सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको भएपनि रोकिने छाँट छैन् ।