भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले संसदमा उठेका सवालमा इमान्दार भएर जवाफ दिन सरकार र सरकारका मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले निर्वाचित जनप्रतिनिधिहरुको थलो संसदप्रति उत्तरदायी बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संसदको विभिन्न समयमा के कस्ता विषयमा कुरा उठेको छ भन्ने सम्म मन्त्रीहरुलाई जानकारी नहुने गरको भन्दै उहाँले संसदप्रति इमान्दार, जवाफदेही र उत्तरदायी बन्न आग्रह गर्नुभयो । सरकार र सरकारका मन्त्रीहरुले सांसदले उठाएका सार्वजनिक सरोकारका विषयप्रति जवाफदेही नभएकोमा आक्रोश पोख्नुभयो ।

संसदमा सांसदहरुले उठाएका सबै विषयको रेकर्ड राख्दै ती सवालको जवाफ दिएर जनताप्रति आफ्नो इमान प्रदर्शन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उद्घाटन गर्न जहाँ पनि पुग्ने गरेका मन्त्रीहरु सदनमा भने कमै उपस्थिति जनाउने गरेको तर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुयो । सदन प्रभावकारी बनेर आधुनिक, प्रगतिशील र जनमुखी कानुन बनाएर अघि बढेमा व्यवस्था विरोधीहरु त्यसै ‘झिसमिस’ हुने तर्क गर्नुभयो ।
राष्ट्रियसभा सदस्य बेदुराम भुसालले हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचार रुपी महारोगबाट सिंगो मुलुक आक्रान्त बनेको भन्दै न्यूनीकरणका लागि थप कदम सरकारको ध्यानाकर्षण गराउनुभयो । भ्रष्टाचारबाट मुलुकलाई मुक्त बनाउने बाटोमा सभाको भुमिका केन्द्रीत गर्न पनि उहाँले आग्रह गर्नुभयो । मलुकमा व्याप्त भ्रष्टाचार कोरोना भाईरस जस्तै भाईरस भएको भन्दै उहाँले न्यूनीकरणका लागि राष्ट्रियसभाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले मुलुकका अन्य समस्याहरुको न्यूनीकरण गर्दे सही बाटोमा लैजान र समाज रुपान्तरणका लागि आवश्यक अभियानहरु सञ्चालन गर्नका लागि सरकारलाई सहयोग गर्दे अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक क्षेत्रमा आएको परिर्वतन अनुसार सामाजिक,आर्थिक र सांस्कृतिक रुपान्तरण गर्न नसकेका कारण त्यसले प्रतिगमनको आधार तयार पार्दे गएको तर्क गर्नुभयो । विगत देखिनै राजनीतिक सफलतालाई नै सम्पुर्ण सफलता ठान्ने र अंहकारी व्यवहार गर्ने प्रवृत्तिको अन्त्य हुन नसकेका कारण परिर्वतनलाई प्रतिगमनले उल्टाउने गरेको स्मरण गराउँदै वर्तमान अवस्थामा पनि प्रतिगमन दोहोरिने हो कि भन्ने चिन्ता थपेको बताउनुभयो । राजसंस्थावादीहरु फेरि पनि जुर्रमुराउने प्रयास गरिरहेको भन्दै विगतको इतिहास दोहोरिन नदिन सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।
राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले विकास निर्माणको क्रममा अलपत्र परेका कार्यक्रमहरुलाई समयमै सम्पन्न गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । समयमै निर्माण सम्पन्न नगर्दा वातावरण प्रतिकुल हुनुको साथै त्यसले सर्वधारण पनि मारमा पर्ने गरेकाले समयमै विकास निर्माणको कामहरु सम्पन्न गर्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सरकारका कर्मचारी र सेवाग्राही दुवै प्रविधिमैत्री नहुँदा सेवाग्राहीले समयमा सेवा नपाएको तर्फ पनि गम्भीर बन्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले राष्ट्रियसभाको बैठकमा जनताको सवालमा गरिने बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । सबै आलोचना र सबै असहमति विमति र विरोध नहुने भएको विभिन्न विषयमा गरिने बहस र छलफललाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सम्मृद्ध बनाउनका लागि सार्थक बहस आवश्यक हुने तर्क गर्नुभयो । निरासा फैलाउने र उत्साह जगाउनेबीच, विकास र सम्मृद्धि चाहने र विकास र सम्मृद्धि नचाहनेबीच अन्र्तरविरोध श्रृजना भएको, गलत भ्रम श्रृजना गर्ने र सही देख्नेका बीच भ्रम श्रृजना भएको उल्लेख गर्दै उहाँले राष्ट्रियसभाले निरासाहरुमा आशाको मनोविज्ञान श्रृजना गर्नका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले सप्तरीमा जंगली हात्ती र देशी अर्नाबाट किसानहरु आतंकित भएको भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बर्षात सुरु हुनु अगावै सप्तरी देखि पर्सा सम्मको बाढी आतंकलाई नियन्त्रणको प्रयास गर्न माग गर्नुभयो । विशेष समयमा बोल्ने अन्य राष्ट्रियसभा सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Spread the love