मदिरा सप्लायर्स सहित ७ जना पक्राउ

धनुषामा मदिरा सेवनबाट आधा दर्जन बढीको मृत्यु भएको भएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । अवैध घरेलु मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको घटनामा मदिरा सप्लायर्स सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । फागुन २९ देखि चैत १ गतेसम्म अवैध घरेलु मदिरा सेवनबाट जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ र २ को रमदैयामा मदिरा सेवनबाट मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मदिरा सप्लायर्स महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डल, विक्रेताहरु लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका नवीन यादव, घुरन यादव, रमदैयाका तारापट्टीवाली भनिने छठिया देवी, जयकुमार यादव, रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका १४ रजौलका शितल देवी यादव रहेका छन् । प्रहरीका अनुसार महोत्तरीको भंगहामा बनेको अवैध घरेलु मदिरा जगतनारायण मार्फत विभिन्न ठाउँका साथै रमदैयामा समेत लुकिछिपी विक्री वितरण गरिदै आएको थियो । सोही मदिरा सेवनबाट यति ठूलो संख्यामा व्यक्तिहरुको मृत्यु हुन गएको हो । भंगहामा निर्मित सो मदिरा ब्राण्डेड मदिरा कम्पनीको बोतलमा अवैध घरेलु मदिरा प्याक गरी विक्री वितरण गरिदै आएको बताइएको छ । प्रहरीका अनुसार अहिलेसम्म मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । प्रहरीले रमदैया १ का रामनारायण महरा वडा नं. २ का ब्रम्हदेव यादव, रामविलास मण्डल, गुदरी महरा, राजु महरा, इन्द्रजीत महरा, शत्रुध्न मण्डल, श्रीदेव यादवको मृत्यु भएको हो । यसैगरी रामईश्वर महरा, प्रदीप सादा, भरत मण्डल, मनिर नादाफ, भरत सादा र सीताराम यादवको अवस्था गम्भिर रहेको छ । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Spread the love