कौशलटारको बसपार्कमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी जडान

नागरिक हेल्थ ट्रष्ट फण्ड गठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा कौशलटारको बसपार्कमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी राख्ने काम भएको छ।

सो स्थानमा दैनिक पानीको ब्यबस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले ब्यबस्थापन गर्नेछ । माछापुच्छ्रे बैकबाट यस भक्तपुर जिल्लाको लागि अरु थप ४ वटा टेंकी राखिने जनाउदै उक्त बैकका कौशलटार शाखा प्रमुख श्री प्रणय के.सी. ले हाम्रो बैकको संस्थागत सामाजिक उत्तरदायित्त्व अनुसार अहिलेको विषम परिस्थितिमा बैंकको नीति अनुसार नै आजै मात्र काठमाडौ जिल्ला भित्र प्रहरी संग मिली १६ ठाउंमा यस प्रकारको हात धुने ब्यबस्थापन गरेको जानकारी दिनुभयो ।
नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष गोपीकृष्ण न्यौपानेका अनुसार कोरोना भाइरस आउनै नदिनका लागि नागरिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट, ब्यानरहरु र भिडियो क्लिप मार्फत भक्तपुर जिल्लालाई केन्द्रीत गरि कार्यक्रमहरु गरिदै आएको जानकारी गराउदै नागरिक हेल्थ ट्रष्टको अग्रसरतामा अब भक्तपुर जिल्लाकव ४ मुख्य चौकमा हात धुने ब्यबस्था मिलाइने जानकारी गराउनुभयो । महासचिव वचन देउजाले माछापुच्छ्रे बैकले यस अघि पनि गठाघर चौकको बिरुवा संरक्षणको लागि फलामे बेरा लगाउन आर्थिक सहयोग गरे अनुरुप काम भैरहेको र ट्रष्टले जहिले पनि चाहे भूकम्पको बेल होस वा कुनै महामारी वा अन्य स्वास्थ्य सम्बन्धि अप्ठ्यारो परिस्थितिमा परेका बेला स्वतस्फूर्त सहयोग जुटाइ काम गरिरहेको जानकारी गराउनुभयो ।
कोषाध्यक्ष डा. मोनिसा कार्कीले अहिले समाजमा एक किसिमको भय छ, सामान्य रुघाखोकी लाग्दा पनि मलाई कोरेना भाइरसले छोयो कि भन्ने, तर खोकी लाग्दैमा, रुघा लाग्दैमा वा सामान्य ज्वरो आउंदैमा कोरोना भाइरसबाट भएको भन्न मिल्दैन, कोरोना भाइरसको संक्रमण भन्नाका लागि सुख्खा खोकी लाग्ने, अधिक ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिनुपर्छ । थकाइ लाग्ने, पखाला लाग्ने भयो भने पनि जंचाइहाल्नु राम्रो हुन्छ । यो भाइरसको संक्रमण छिटो फैलिने भएकोले शंकास्पद हुनासाथ बिमारीलाई घरमै छुट्टै ब्यबस्थापन गरेर गाह्रो हुँदै गएमा नजिकको अस्पतालमा लैजानुपर्छ । यदि रोग लागेकै भएपनि यो रोग निको पार्न सकिन्छ । वहाँले थप्नुभयो: म कार्यरत अस्पताल नागरिक कम्युनिटी अस्पताल गठाघरमा सम्पर्क गर्न सक्नुहुनेछ । हातधुने कार्यको उद्वघाटन जुत्ता सिलाउने श्रमजीवीले साबुन पानीले हात धोएर गर्नुभयो । सो अघि नेपाल फूलबारी संस्था, वेभ ग्रुप, ट्रष्टका सचिब जितेन्द्र श्रेष्ठ, सदस्यहरु राजकुमार महर्जन, उमेश लम्साल लगायतको सानो टिमले सरसफाइ अभियान सम्पन्न गरेको थियो ।

Spread the love