एनआरएनएले नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने

रु १ करोड सहयोगबाट सरकारलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरोना विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको संघका अध्यक्ष कुमार पन्तले जनाएका छन् । स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ। पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद समेत दिएका छन् ।

त्यसैगरी ति सामान खरिद गर्न एक कार्यदल गठन गरिएको गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जनाएका छन् । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको जनाएको छ । एनआरएनएले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको जनाएको छ ।

Spread the love