विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई संघिय संसदको विकास तथा प्रविधि समितिको निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सुचारु राख्न आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू गरिएपनि विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिएको बताउनुभयो ।

बैठकमा सांसदहरुले कारोना भाइरसको प्रभावकाबिच श्रमिकहरुको हितको लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदुरको सुरक्षा लगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरुले बताएका छन् । सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताउनुभयो ।

सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने तर काम गर्न नसक्ने प्रवृति यसअघि पनि रहदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । यस्तै अर्का सांसद अनिल कुमार झाले सुरक्षाको व्यवस्था गरेर विकास निर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । काम गर्न नपाएर श्रमिक भोकै मर्ने अवस्थामा आइपुगेकोले पनि आयोजनाहरुलाई सुचारु गर्नुपर्ने सांसद झाले बताउनुभयो ।

बैठकमा कोरोना भाइरसको प्रभावकाबिच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयसँगै राष्ट्रिय गौरवका आयोजनाहरुको सम्बन्धमा, रणनैतिक सडकहरुको सम्बन्धमा र नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो । छलफलमा सांसदहरुले आगामि बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिएजस्तै विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । यस्तै बैठकले पूँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझबढी कम हुने भएकोले सरकारलाई दिर्घकालीन नीति ल्याउन समेत निर्देशन दिएको छ ।

Spread the love