आज लकडाउनको ४३ औं दिन

कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिन सम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन् । एयरपोर्ट, कोटेस्वर, तिनकुने, बानेस्वर, माइतिघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावस्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारीसाधनको चाप बढेको देखिन्छ ।
अत्यावस्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारीसाधनहरुको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्रि सडकहरुमा पनि केही पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ ।
सरकारले यही वैशाख २५ गते बिहीबार सम्म लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ८२ पुगेको छ । यस्तै १६ जना निको भइसकेका छन । अहिले सम्म पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४७ परीक्षण गरिएको छ भने ५० हजार ८ सय ४५ आरडिटी परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन भने १ सय ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Spread the love