भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने : पूर्व प्रधानमन्त्री नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सँधैभरी विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नुनै उपयुक्त हुने बताउनु भएको हो । उहाँले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘जहाँ पनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनादी र बाटो निर्माण गर्ने काम सम्म पनि भयो । त्यसैले नियमन गर्ने काममा ध्यान दिन प¥यो । नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ । अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो । यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ । कन्ट्रोल गर्ने उपायमा जानु प¥यो । यसको निम्ति काँडे तार लगाएर हुन्छ की पर्खाल खडा गरेर हुन्छ की सधैभरी विवाद गर्नु भन्दा त क्लियर गरिदिनु राम्रो हो ।’

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताउनु भएको छ । नक्सामा विवाद हुँदा अनावस्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताउनुभयो । यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षा कमीरुको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो आफ्नो सम्पूर्ण भूभाग सहितको आधिकारीक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्न भएन् र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुप¥यो र विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षा कर्मीहरुको लागि उचित प्रबन्ध गर्नुप¥यो ।’

Spread the love