गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु ,नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिमसन अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचाररत गुल्मीका ४१ वर्षिय पुरुषको निधन भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण पोजेटिभ देखिएका ती पुरुषको बिहीबार निधन भएको बताउनुभयो । यसअघि सिन्धुपाल्चोककी २९ वर्षिया महिला र बाकेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।
प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । बिहीबार थप ९ जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ४ सय ५३ पुगेको हो । रुपन्देहीका २७ वर्षिय पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बिहीबार टेकुमा उपचाररत ४ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार २३ र २५ वर्षिया महिला तथा २७ र ३७ वर्षिय पुरुष ९ औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा उपचार पछि निको भएर घर फर्किने संक्रमितको संख्या ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट मात्रै ३ हजार ४ सय १४ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय २३ जनाको परीक्षण भएको छ । अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ जनाको नमुना परीक्षण गरिएको छ । आरडिटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ ।प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ६ हजार २ सय ७९, बागमती प्रदेशमा १७ हजार ४ सय ४९ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४ सय ८५ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । अहिले देशभरीका क्वारेन्टाइनमा २५ हजार ३० जना रहेका छन् ।

Spread the love