आज इदुलफित्र मनाईदै

मुस्लिम समुदायले आज इदुलफित्र मनाइरहेका छन् । सरकारले ईदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
इस्लाम परम्परा अनुसार ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गरिन्छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वीले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्न भन्ने एक खालको मुस्लिम समुदायमा विश्वास छ । मिठो खाने कुरा तथा नयाँ लुगा लगाउने यो पर्व मनाइन्छ ।

विश्वमा नै कोरोना फैलिएसँगै यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भनेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद पर्व मनाउन आग्रह पनि गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा शुभकामना दिदै सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी छन् ।

Spread the love