नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन सम्बन्धी गतिविधिहरू तीव्र बनेका छन्। विभिन्न संघ संस्थाहरूले निर्वाचनका लागि आफ्नो प्यानल घोषणा गर्ने क्रम जारी छ । यसैक्रममा बुधबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतका संघ संस्थाको तर्फबाट उम्मेद्वारी घोषणा गरिएको छ । काठमाडौँको अनुपम फुडल्यान्डमा एक कार्यक्रम आयोजना गरी उम्मेद्वारी घोषण गरिएको हो । संयुक्त व्यवसायी समूहमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च,लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र समाजवादी वैदेशिक रोजगार व्यवसायी संस्था लगायतका संघ संस्था रहेका छन् ।
संयुक्त व्यवसायी समूहको उम्मेद्वार घोषणा कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराई नेपाली कांग्रेसका केन्द्रीय सदस्य सीता देवकोटा नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा वैदेशिक रोजगार व्यवसायी इन्चार्ज नागेन्द्र चौधरी, संघका पूर्व अध्यक्ष बिमल ढकाल लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्षमा प्रगतिशील मञ्चका तर्फबाट नरेश गेलालले उम्मेद्वारी दिने भएका छन् । नरेश गेलाल यसअघि संघका पूर्व सचिव हुन् भने प्रगतिशील मञ्चका अध्यक्ष हुन् ।त्यस्तै महासचिवमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट कर्णकटुवालले उम्मेद्वारी दिने भएका छन् । कटुवाल यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव हुन् ।
संयुक्त व्यावसायिक समूहमा प्रगतिशील मञ्चका तर्फबाट अध्यक्ष, तृतीय उपाध्यक्ष,कोषाध्यक्ष र केही सदस्य,लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट महासचिव सहितचार सदस्य, समाजवादी संस्थाको तर्फबाट सचिव सहित केही सदस्य छनौट गरिएको छ।
संयुक्त व्यवसायिक समूहको नामावली यस प्रकार छः
अध्यक्ष नरेश गेलाल
प्रथम उपाध्यक्षः सुजित श्रेष्ठ
द्वितीय उपाध्यक्षः मधुकर रिजाल
तृतीय उपाध्यक्षः बैकुण्ठ पौडेल
महासचिवः कर्णराज कटुवाल
सचिवःअनिल बोगटी
कोषाध्यक्षः धनु सिन्जाली
सदस्यहरूः
राजेश यादव
युवराज देवकोटा
छत्र बस्नेत
रामेश्वर शाह
दिनेश बस्नेत
हिमा गुरुङ
रमा खड्का
चन्द्रलिम्बु
राजेन्द्र बस्नेत
देउमान्य नेम्बाङ

एकदिन अघि मात्र नेपाली कांग्रेस सुभेच्छुक लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाली कांग्रेसका उपाध्यक्ष धनराज गुरुङ राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा, समेतको उपस्थितिमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक मञ्चवीच सहमति गरी भुवन गुरुङको यो नेतृत्वमा संयुक्त समिति घोषणा गरेको थियो। उक्त घोषणाप्रति असन्तुष्ट जनाउँदै लोकतान्त्रिक सम्बन्ध व्यवसायीहरूले पार्टीका शीर्षस्थ नेतृत्वलाई भेटी गणतान्त्रिक मञ्चसँग सहकार्य गर्न उपयुक्त नभएको जानकारी गराएका थिए । तत्पश्चात पार्टी नेतृत्वले सत्ताइतर संगठनहरूसँग सहकार्य गर्ने पार्टीको नीति नरहेकोले सत्तामा रहेका पार्टीहरूका शुभचिन्तक संस्थाबीच सहकार्य गर्न निर्देशन दिएकोले पेशागत हितका लागि यस प्रकार संयुक्त व्यावसायिक समूह घोषणा गरिएको वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले बताए । बैदेशिक रोजगारमा रहेका केही समस्याहरु समाधान गर्न व्यवसायिक एकता आवश्यक परेकोले यसप्रकार संयुक्त व्यवसायी समूहको उम्मेद्वार घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।
बुधबार प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च,लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र समाजवादी वैदेशिक रोजगार व्यवसायी संस्था सम्मिलित संयुक्त व्यावसायिक समूहको घोषणा गरिएपछि यसअघि घोषणा भएको संयुक्त समिति संकटमा परेको छ ।
