काठमाडौँ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको संयुक्त गठबन्धनले चुनाव प्रचारप्रसारलाई तीव्र बनाएको छ । चैत २९ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि प्रचार प्रसार तीव्र पारिएको हो । गठबन्धनले बिहिबार काठमाडौँको तीनकुने स्थित रोयल व्यंकेटमा व्यवसायीहरूको उल्लेख्य उपस्थिति बीच क्षेत्रीय चुनावी भेला गरेको हो। चुनावी भेलामा चुनाव प्रचार प्रसार समितिका संयोजक तिलक रानावाट, संघका पूर्व अध्यक्ष किरण किशोर घिमिरे,अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङ महासचिव महेश बस्नेत, सचिव कुन्छा दोर्जे डिङ्गडुङ लगायतका उम्मेदवारहरु र व्यवसायीहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन लोकतान्त्रिक एसोसिएशनका का. बा. महासचिव तुलसी पुरीले गरेका थिए ।

बुधबार नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएशनको आधिकारिक निर्णयका विरुद्ध असन्तुष्ट पक्षले प्रगतिशील मञ्च र समाजवादी संस्थासँग चुनावी गठबन्धन गरी उम्मेदवार घोषणा गरेको थियो । प्रगतिशील मञ्चका नरेश गेलालको अध्यक्षतामा महासचिवमा लोकतान्त्रिक एसोसिएसनका कर्णराज कटुवाल लगायतको उम्मेदवारी घोषणा गरिएको थियो ।
उक्त परिस्थितिमा लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक गठबन्धनको पक्षमा व्यवसायीहरू नरहेको भनी टिका टिप्पणीहरु भइरहेको सन्दर्भमा विहीबार भएको व्यवसायीहरूको उपस्थितिले निर्वाचनमा दह्रो प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
