जनकपुर ।आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ ।
माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधाम स्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।
जानकी नवमीको अवसरमा जनकपुर धाम स्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदि प्रकट भएको जन विश्वास रहेको छ । रामायण कालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।
जानकी नवमीको अवसरमा आज जानकी मन्दिरमा बधाइ गान, प्राकट्य उत्सव, जानकी डोलायात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।
मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।