ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले दिए संसदमै बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद कुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् ।
सांसद चौधरीले मन्त्रालयले पहिलो पटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे ।
सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गरे । विद्युत् विकासको मार्गचित्र ऊर्जा मन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उनको भनाई थियो। नेपालले आन्तरिक खपत पछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
उद्योगी समेत रहेका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताए । चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाट कापी पीए भइसकेका आयोजनाहरूलाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।

Spread the love