राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले गरे सपथ ग्रहण

राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिहरुका नवनिर्वाचित सभापतिहरुले आज सपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सभापतिहरुलाई आज सपथ ग्रहण गराउनुभएको हो । चारवटै विषयगत समितिहरुमा गत शुक्रबार निर्विरोध निर्वाचित भएका सभापतिहरुलाई आज राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले सपथ गराउनुभएको हो । सपथ ग्रहणपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले कोरोना संकट रहेकै बेला संसद पनि बन्द रहेको अवस्थामा समितिको काम कारवाही प्रभावकारी बनाउनु चुनौती रहेको बताउनुभयो । सरकार संसदप्रति उत्तरदायी, जवाफदेही बनाउन सक्रियता पूर्वक काम गर्ने समयमा महामारीले केही असर गरेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर काम गर्नुपर्ने चुनौती रहेको उहाँले बताउनभुयो ।

राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले विगत २ वर्षको अनुभवका आधारमा सरकारलाई जवाफदेही बनाउने हिसाबले प्रभावकारी रुपमा अगाडी बढ्ने बताउनुभयो । गत विहिबार भएको मनोनयनमा दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल (पार्वती) को मनोनयन परेको थियो । सबै समितिहरुमा एक एक जनाको मात्रै मनोनयन परेकाले निर्विरोध निर्वाचित भएका थिए ।

Spread the love