न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको एशोसिएशनका अध्यक्षको भनाइ

नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ । बार एशोसिएशनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो । उहाँले २०७५ सालमा बहाली हुँदा न्यायपालिका भित्रको विसंगति विक्रिती हटाउन नेतृत्व गर्ने भन्ने भएपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभएको हो । झिना मसिना कुराहरुमा सुधार भएको तर जनताले चाहेको खास कुराको समाधान हुन नसकेको बताउनुभयो ।

नेपाल बार एशोसिएशनले न्याय सम्पादनमा भएका विक्रिती विसंगति हटाउनुपर्ने भन्दै प्रधान न्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिए अनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ । यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ ।
न्याय क्षेत्र भित्रका विसंगती, विक्रिती, बिचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ । यस्तै वरिष्ठ अधिवक्ताको उपाधी आफुखुशि वितरण नगर्न समेत माग गरेको छ । यस्तै न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बार एशोसिएशनले माग गरेको छ ।

Spread the love