काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलेसय संख्या समाधानका लागि दौडधुप जारी राखेको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङ समेतको प्रतिनिधिमण्डलले सघीय संसदका सभामुख लगायत दलका प्रमुख सचेतक समेत सँग भेटघाट गरी दौडधुप जारी राखेको हो ।
अध्यक्ष भुवनसिंह गुरुङ समेतको प्रतिनिधिमण्डलले शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको थियो । भेटमा प्रतिनिधिमण्डलले राष्ट्रिय सभाबाट सन्देश सहित पारित भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई यथाशीघ्र प्रतिनिधि सभामा निर्णयार्थ पेसगरी यस आर्थिक वर्ष भित्रै ऐन पारित गर्न ध्यानाकर्षण गरेको अध्यक्ष गुरुङले बताए । सभामुख देवराज घिमिरेले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समस्या समाधानका लागि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित गर्न प्राथमिकतामा राख्ने आस्वासन दिएको उनले बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ, पूर्वअध्यक्ष तिलक बहादुर रानाभाट, लोकतान्त्रिक एसोसिएसनका अध्यक्ष दीपक थापा समेतको प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेसँग पनि भेट गरी यस आर्थिक वर्ष भित्रै ऐन पारित गर्न ध्यानाकर्षण गरेको थियो ।
सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे लगायतसँग भेटपाश्चात अध्यक्ष भुवनसिंह गुरुङले भने, “संसद, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, राजनीतिक दलहरुबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समस्या समाधानका लागि सकारात्मक पहल भएको छ । केही दिनमा नै विधेयक संसदबाट पारित हुन्छ । सय संख्याको समाधानका लागि धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ ।”