काठमाडौँ । वैदेशिक रोजगार विभागले जापानमा कामदार पठाउन जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को)मा सूचीकरण भएका म्यानपावर कम्पनीहरूलाई नवीकरण गर्न सूचना जारी गरेको छ । वैदेशिक रोजगार विभागले आगामी साउन १५ गतेसम्म नवीकरणका लागि निवेदन दिनुपर्ने बताएको छ । नेपाली श्रमिक जापान पठाउन सूचीकृत संस्थाहरूलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ एवं नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ बमोजिम नवीकरणका लागि निवेदन माग गरेको हो ।
विभागका अनुसार नवीकरण का लागि १० हजार रुपैयाँको भौचर, अघिल्लो नवीकरणको मिति खुलेको सूचीकृत प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत आर्थिक वर्ष २०८०/८१ मा पठाएका कामदारको संख्या, कर चुक्ता प्रमाणपत्र, कम्पनी अद्यावधिक पत्र र इजाजत प्राप्त संस्थाको दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने छ ।
वैदेशिक रोजगार विभागमा जिट्को अन्तर्गत ४८२ संस्थाहरू सूचीकृत भएको विभागले जनाएको छ ।