बीमा समितिद्धारा हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा

बीमा समितिले हाल सम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको बताएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमलेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताउनुभयो । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो । बीमा समितिले वैशाख ४ गते देखि कोरोना भाइरस (कोभिड-१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो । जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो ।

जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिदा अहिले १ लाख रुपैयाँको बीमा ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताउनुभयो । त्यस्तै अहिले सम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उहाँले बताउनुभयो । त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताउनुभयो ।

अहिलेको कोरोना बीमालेख एकपटकका लागि मात्रै भएको पनि अध्यक्ष चापागाईंले स्पस्ट पार्नुभएको छ । एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बीमा गर्न सक्ने व्यवस्था अहिले नरहेको उहाँले बताउनुभयो । तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उहाँले बताउनुभयो । एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरी संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बीमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बीमा गर्न नसकिने उहाँले स्पस्ट पार्नुभयो ।

अहिलेको व्यवस्था अनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनैपनि दायित्व नपर्ने पनि अध्यक्ष चापागाईंले बताउनुभयो । उहाँले बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ सम्म दायित्व लिनुपर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने उहाँले बताउनुभयो । एक अर्ब भन्दा माथि साढे ३ अर्ब सम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्नेपनि उहाँले बताउनुभयो । साढे ३ अर्ब भन्दा माथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ । एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्त सम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न पाइनेछ ।

Spread the love