काठमाडौंमा कोठा खाली, भाडामा लगाउन मुस्किल

केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ । कोठा गरि बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले टु लेट, कोठा, फ्ल्याट खाली छ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन ।

यही भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यति मात्रै होइन काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खालि गराएका छन् । कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन । काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यका भरी नै एकनासको समस्या रहेको बताउनुहुन्छ । अनामनगर क्षेत्रमा मात्रै नभएर उपत्यका भरी नै सटर र फ्ल्याटहरु ठूलो संख्यामा खाली भएको उहाँको भनाई छ । कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडी बढ्ने प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ । पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए । कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए । तर अहिले अवस्था फेरिएको छ । डेरवालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउँछन् । भाडामा वस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ ।

Spread the love