मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन

सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ । सञ्चार क्षेत्र लाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको हो । सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायि हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले अलाइन्सको गठन भएको हो ।
अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलान्सको स्थापना भएको बताउनुभयो । सञ्चार नीति अभावमा २० अर्ब बढीको लगानी भएको क्षेत्र टुहुरो बन्न पुगेको उहाँले बताउनुभयो । उहाँले एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताउनुभयो ।
अलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकता भन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने तर्फ ध्यानाकर्षण गराउनुभयो । सहज रुपमा सञ्चार माध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यवसायीक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको बताउनुभयो ।
इमेज च्यानलका अध्यक्ष आर के मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रीत पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताउनुभयो । सञ्चार माध्यम चल्न धौ धौ परेको बेला थपिएको दायित्वले सञ्चार माध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमुलक संस्थाले संरक्षण गर्न प्रदान गर्न नसक्नु दुःखद भएको बताउनुभयो । अलाइन्सले विगतका प्रतिनिधिमुलक संस्थाले गरेका कमि कमजोरी सच्याएर अगाडी बढ्नेमा सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहनु भएको छ । इमेज च्यानल प्रालीका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषध्यक्ष रहनुभएको छ ।
सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइम टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली रहुनभएको छ । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहनुभएको छ ।

Spread the love