काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका छन् । सीएनएनको रिपोर्ट अनुसार, ट्रम्पले इरानको उक्त प्रस्तावमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।
इरानी प्रस्तावमा हर्मुज जलमार्गबाट हुने समुद्री यातायातलाई पुनः सुचारु गर्ने उल्लेख छ ।
तर, आफ्नो विवादास्पद आणविक कार्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई भने भविष्यमा छलफल गर्ने गरी थाती राख्न इरानले प्रस्ताव गरेको छ । सोमबार राष्ट्रिय सुरक्षा सहयोगीहरूसँगको उच्चस्तरीय ब्रिफिङमा राष्ट्रपति ट्रम्पले यसबारे आफ्नो आरक्षण व्यक्त गरेको स्रोतहरूले जनाएका छन् ।
प्रशासनिक अधिकारीहरूले इरानी आणविक संवद्र्धन र बम बनाउन मिल्ने युरेनियमको भण्डारको मुद्दालाई सम्बोधन नगरी महत्त्वपूर्ण जलमार्ग खोल्न दिँदा इरानमाथि रहेको अमेरिकी कूटनीतिक दबाब समाप्त हुने चिन्ता व्यक्त गरेका छन् । यद्यपि, जलमार्ग बन्द रहिरहँदा ऊर्जाको मूल्य बढ्ने र अमेरिकी इन्धनको लागत थप महँगो हुने जोखिम पनि उत्तिकै छ ।

सीएनएनका अनुसार, अमेरिकी प्रतिनिधिहरू इरानी सरकारभित्रको आन्तरिक कलहप्रति पनि सचेत छन् । इरानमा वास्तवमा कसको हातमा निर्णय लिने अन्तिम शक्ति छ भन्नेमा अमेरिका अझै स्पष्ट छैन । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानको प्रस्ताव सोचेभन्दा केही सकारात्मक भए पनि त्यहाँको नेतृत्व र स्थिरतामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्च नेता मोज्तबा खामेनीको धार्मिक र राजनीतिक अधिकारमाथि प्रश्न गर्दै सोधेका छन,‘के उनीसँग वास्तवमै सर्वोच्च नेताको रूपमा काम गर्ने अख्तियारी छ ? के उनी आफैंले निर्णय गरिरहेका छन् वा उनको सट्टामा अरू कसैले ?’ कूटनीतिक गतिरोधका बीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार मस्को पुगेर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सो क्रममा अराघचीले मध्यपूर्वमा शान्ति वार्ता असफल हुनुको दोष वासिङ्टनमाथि थोपर्दै अमेरिकाको कडा अडान र अत्यधिक मागले गर्दा प्रगति हुन नसकेको दाबी गरे ।
ह्वाइट हाउसकी सहायक प्रेस सचिव ओलिभिया वेल्सले यी संवेदनशील कूटनीतिक छलफलहरू भएको पुष्टि गर्दै भनिन,‘राष्ट्रपतिले भन्नुभएझैं, अमेरिकासँग सबै कार्डहरू सुरक्षित छन् । हामी अमेरिकी जनताको हितलाई प्राथमिकतामा राखेर मात्र सम्झौता गर्नेछौँ र इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन दिने छैनौँ ।’
हाललाई अमेरिका र इरानबीचको शान्ति वार्तामा कुनै ठोस नतिजा निस्कन सकेको छैन, यद्यपि ब्याक–च्यानल कूटनीति भने जारी रहेको बताइएको छ । (एएनआई)
