पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न पर्यटन व्यवसायीहरुको माग

पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न सरकारसँग माग गरेका छन् । कोभिड-१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिड सम्बन्धी मापदण्ड निर्माण गरी सूचारु गर्ने व्यवस्था गर्न व्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन । बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनेगरी काम गर्न पनि माग गरेका छन् ।
आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नभएकोले आन्तरिक पर्यटनको प्रवद्र्धनमा जोड दिन माग गर्नुभयो । आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समस्या भएको बताउनुभयो । आन्तरिक पर्यटनका लागि पनि छुट्टै मापदण्ड निर्माण गर्न माग गर्नुभयो ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले कोरोना खोप लगाएर आएका विदेशी पर्यटकलाई कसरी भ्रमण गराउने भन्ने सम्बन्धमा छुट्टै मापदण्ड बनाउनुपर्ने बताउनुभयो । यस्तै पर्यटकहरुको प्रयाप्त रेकर्ड राख्ने व्यवस्था गर्न समेत सुझाव दिनुभयो । नेपालबाट फर्किदा कोभिड लिएर फर्किनु पर्छकी भन्ने आशंका भएकाले पनि पर्यटकहरु आउन नसेको बताउनुभयो । आरोही संघकी अध्यक्ष लाक्पा फुटी शेर्पाले लामो समय पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन बनेका आरोहीहरु समस्यामा परेकोले राहत उपलब्ध गराउन माग गर्नुभयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले प्रदेशमा रहेका पर्यटन कार्यालयमा कोभिडलाई कारण बनाई कर्मचारी नबस्दा समस्या हुने गरेको बताउनुभयो । कर्मचारी नै नभएपछि नविकरणका कामहरु प्रभावित हुने गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा नेपाल आउन चाहने विदेशी पर्यटकहरुले भिसा पाउन समस्या भएको बताउनुभयो । स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टाइनमा राख्न कुनै आवश्यकता नरहेको पनि बताउनुभयो ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष अरनिको राजभण्डारीले रेस्टुरेन्ट व्यवसायीहरुलाई घरबहाल र श्रमिकहरुको तलब भुक्तानी गर्न अप्ठेरो परेको बताउनुभयो । रेस्टुरेन्ट र बार पर्यटन क्षेत्र भित्र पनि नपर्ने भएकोले नेपाल राष्ट्र बैंकले दिएको राहत पाउन समेत नसकिएको बताउनुभयो । पुनरकर्जाका लागि बैंकमा आवेदन दिदा समेत बैंकहरुले प्रक्रियामा नलगिदिएको गुनासो गर्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत र साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिकामा काम गर्ने बताउनुभयो । मन्त्रालयको तर्फबाट ध्यान नपुगेर पर्यटन व्यवसायमा समस्या भएको छ भने त्यसको समाधानका लागि आफू तयार रहेको पनि मन्त्री ढकालले बताउनुभयो । यस्तै आन्तरिक पर्यटनलाई जोड दिने र भारत तथा चीनबाट धार्मिक पर्यटक ल्याउन प्रचार प्रसारमा लाग्ने समेत बताउनुभयो ।

गत वर्ष चैत ११ गते बाट लकडाउन शुरु भएपछि नेपालको पर्यटन क्षेत्र ठप्प छ । लकडाउन खुलेपछि पनि स्वास्थ्य मापदण्डका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन् । आन्तरिक पर्यटन खुल्ला गरिएको छ । तरपनि निश्चित स्वास्थ्य मापदण्ड अनुसार पर्यटन क्षेत्रलाई अगाडि बढाउन नसक्दा अझै लामो समयसम्म पर्यटन क्षेत्र प्रभावित भइराख्ने देखिन्छ ।

Spread the love

Comment here