पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन

बैशाख २९, काठमाडौँ । वित्तीय क्षेत्रमा लामो अनुभव भएका बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ । हिजो राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो ।

केही समयदेखि संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए । बीचमा सन्चो भएको थियो । त्यहीबेला अप्ठेरो भएपछि उनलाई आइसीयुमा राख्न लागिएको थियो। आफूलाई ठिक हुन लागेको र खासै समस्या नभएकाले आफ्नो बेड अरुलाई दिन उनले भनेका थिए ।

जब फेरी संक्रमणले च्याप्यो उनले अस्पतालमा बेड पाएनन्। लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाए । त्यहाँ हुँदा उनले आफूलाई ठिक हुन लागेको भन्दै केही साथीहरुलाई आफ्नो ’सेल्फी’ पनि खिचेर पठाएका थिए ।

उनको श्रीमती र छोरी छन् । दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन् । दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिएको थियो । अस्ति संक्रमण मुक्त भएको रिपोर्ट आएको थियो । आज उनीहरु नेपाल आउँदैछन् ।

श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए । बीचमा केही दिनलाई सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए । तर बोर्डमा लफडा भएपछि उनी कार्यालय नै नगइ बाहिरिएका थिए ।

तत्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए । एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए ।
उनी जोखिम र आन्तरिक नियन्त्रण प्रणालीमा राम्रो दख्खल भएको बैंकर थिए ।

Spread the love