शेयर उकालो लाग्दै, १७ अर्ब माथिको कारोवार

जेठ १६, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । शेयर खरिदबिक्री रकम अहिलेसम्मकै उच्च पुगेर नेपाली पुँजी बजारको इतिहासमै नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेको छ । कारोबारमा आएका बैंकिङ तथा वित्तीय क्षेत्रका कम्पनीहरूको परिसूचक बढेपछि सेयर बजारमा वृद्धि भएको हो ।

पछिल्लो समय लगातार रेकर्ड बनाउँदै गइरहेको नेप्से परिसूचक बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन सामान्य घटेको थियो ।

आइतबार नेप्से १.१३ प्रतिशतले बढेर २८४७.३० बिन्दुमा पुगेको छ । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन समूहका परिसूचकमा ठूलो वृद्धि देखिएको छ । विकास बैंक समूहको परिसूचक आठ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । फाइनान्स समूहमा ६.०९ प्रतिशतको वृद्धि भएको छ ।

आइतबार १७ अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ७३ हजार पाँच सय ३७ पटकको कारोबारमा चार करोड २६ लाख ३६ हजार तीन सय ४८ कित्ता सेयर किनबेच भएको छ ।

खरिदबिक्री रकममा नेसनल हाइड्रोपावर ४७ करोड ४० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः अरुण काबेली र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

१७ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । अहिले शेयरकर्ताहरु निकै उत्साहित बनेका छन् ।

Spread the love

Comment here