नेपाल धितोपत्र बोर्डले शेयर कारोवारमा जोखिम कम्पनीको विवरण सार्बजनिक गर्यो

असार १, काठमाडौं । नेपाल धितोपत्र बोर्डले निहीत जोखिम रहेका कम्पनीहरुको मंगलवार विवरण सार्वजनिक गरेको छ ।

बोर्डले जारी गरेको बिज्ञप्तिमा निहीत जोखिम रहेका ५१ ओटा कम्पनीहरुको विवरण उल्लेख छ । धितोपत्र बोर्डले विगत एक वर्षको अन्तरालमा सूचीकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सोभन्दा बढीले मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रतिशेयर अंकित मूल्य भएका कम्पनीहरुलाई जोखिम पूर्ण रहेको बताएको छ ।

यस्ता कम्पनीमा लघुवित्त, जलविद्युत्, वित्त कम्पनी र बीमा कम्पनीहरु रहेका छन् ।
उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा अध्ययन पनि शुरु भएको बोर्डले बताएको छ ।

धितोपत्रको दोस्रो बजारमा विभिन्न कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयर मूल्य बढाएको पाइएको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ती ५१ ओटा कम्पनीको शेयर मूल्यमा चलखेल गरी शेयरमूल्य बढाएको खुलासा भएको हो । धितोपत्र बोर्डले लगानीकर्ताको हित संरक्षणका लागि सधैं तत्पर रहेको पनि बताएको छ ।
’धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आँकलन गरेर मात्र लगानी गर्नु पर्दछ । बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुने भन्दै बोर्डले कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व त्यो कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढीभन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याँकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुने भनेर लगानीकर्तालाई सम्झाएको छ ।

बोर्डले मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको जनाएको छ ।

शेयर बजार जोखिम मुक्त नरहेको हुँदा यसमा लगानी गर्नेले जोखिमको आकलन गरेर मात्र लगानी गर्न बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ ।
’लगानीकर्ताको हित संरक्षणका लागि बोर्डले बजारका हरेक क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गर्ने कार्य समेत गर्दै आएको छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ’विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएको छ ।’

Spread the love