धितोपत्र बोर्डको सुचनाले ५१ वटा कम्पनीमा नकारात्मक असर

असार २, काठमाडौं । मंगलवार नेपाल धितोपत्र बोर्डले ५१ ओटा कम्पनीहरुमा गरिएको लगानी जोखियुक्त भन्दै प्रेस विज्ञप्ति जारी गरेसँगै बुधवार आत्तिएर शेयर विक्री गर्नेहरु सक्रिय हुँदा बजारमा नकारात्मक असर परेको छ ।

धितोपत्र बोर्डले मंगलवार सार्वजनिक गरेको ५१ ओटा कम्पनीहरु भित्रकै कम्पनीहरुको शेयरमूल्यमा बुधवार नकारात्मक सर्किट लागेको हो ।

नियामकको नियमन परिधिभन्दा बाहिर गएर धितोपत्र बोर्डले कम्पनीको नामनै तोकेर जोखिमयुक्त बताएपछि लगानीकर्तामा नकारात्मक सूचना प्रवाह भएको जानकारहरु बताउँछन् ।

बोर्डले लगानीकर्ताहरुलाई जोखिम बहन गर्ने क्षमतालाई ध्यानमा राखी लगानी गर्न सुसूचित गरेपनि तरिका गलत भएको आलोचना आएको छ । विगत डेढ वर्षदेखिको बजारको अवस्थालाई अहिले आएर बोर्डकै कमजोरीका कारण असर पर्न थालेको सम्बन्धित व्यक्तिहरुको भनाई छ ।

त्यसैगरि, साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ७३ प्रतिशत घटेर बन्द भएको छ ।

यो दिन अघिल्लो कारोबार दिनको तुलनामा ५२ दशमलव ४१ अंकले नेप्से परिसूचक घटेर २ हजार ९६९ दशमलव ६९ विन्दुमा झरेको हो । २ हजार ९८९ दशमलव ५५ विन्दुदेखि खुलेको बुधवारको बजार २ हजार ९४३ दशमलव ९४ विन्दुसम्म झरेको थियो ।

बुधवारको बजारमा कारोबार रकमको उच्चता कायमै रहेकाले सोझासिधा लगानीकर्ताले शेयर बेचेको र बाठाले उठाएको अनुमानसमेत उनले गरेका छन् ।

बुधवार रू. १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । २१९ ओटा कम्पनीको १ लाख ६७ हजार ९३८ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर कारोबार भएको हो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन पनि नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । मंगलवारदेखिनै उक्त कम्पनीले सर्वाधिक कारोबार रकमको हिस्सा ओगट्दै आएको छ । पहिलो नम्बरमा नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ भने दोस्रोमा हिमालयन डिष्टिलरीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।

नेपाल पुनर्बीमाको रू. ६० करोड ९० लाख १२ हजार बराबरको र हिमालयन डिष्टिलरीको रू. ५५ करोड ५७ लाख ५३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गर्ने यी दुबै कम्पनीको शेयरमूल्य भने यो दिन घटेको छ ।

नेपाल पुनर्बीमाको ३ दशमलव ७३ प्रतिशत अर्थात् रू. ७२ ले घटेर अन्तिम मूल्य रू. १ हजार ८५८ र हिमालयन डिष्टिलरीको ६ दशमलव शून्य ८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३४९ ले घटेर अन्तिम मूल्य रू. ५ हजार ३८९ कायम भएको छ ।

बुधवार लघुवित्त समूहको परिसूचक २ दशमलव ६३ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ८ प्रतिशतले घटेको छ ।

त्यस्तै होटल्स तथा पर्यटन समूहको ५ दशमलव १४ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ४७ प्रतिशत, व्यापारिकको २ दशमलव ५४ प्रतिशत, विकास बैंकको ४ दशमलव शून्य ४ प्रतिशतले परिसूचक घटेको छ ।

त्यसैगरी जलविद्युतको ४ दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव १७ प्रतिशत, अन्यको २ दशमलव ९८ प्रतिशत, जीवन बीमाको २ दशमलव १८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १८ प्रतिशत र लगानी समूहको २ दशमलव ५४ प्रतिशतले परिसूचक घटेको छ ।

दोहोरो उच्च अंकले घटेको बुधवारको बजारमा सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य भने ९ दशमलव ९० प्रतिशत बढेको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६ ले बढेर अन्तिम मूल्य रू. ७३३ कायम भएको हो ।

यो दिन सर्वाधिक मूल्य वृद्धि हुने पाँच ओटा कम्पनीभित्र सीईडीबी हाइड्रोपावरसँगै फष्र्ट माइक्रोफाइनान्स, युनियन हाइड्रोपावर, आरएसडिसी लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् ।

यो दिन फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव २० प्रतिशत, युनियन हाइड्रोको ६ दशमलव ४४ प्रतिशत, आरएसडिसी लघुवित्तको ५ दशमलव ६२ प्रतिशत र सामुदायिक लघुवित्तको ५ दशमलव २३ प्रतिशत शेयरमूल्य बढेको छ ।यस दिन करीब डेड दर्जन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यो दिन जोशी हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ९१ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ८८ प्रतिशत, आँखुखोला जलविद्युतको ९ दशमलव ८५ प्रतिशत, बेष्ट फाइनान्सको ९ दशमलव ७८ प्रतिशत, पञ्चकन्यामाई हाइड्रोको ९ दशमलव ७६ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ७५ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९ दशमलव ७२ प्रतिशत, मल्टिपर्पस फिनान्सको ९ दशमलव ७२ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७० प्रतिशतले घटेको छ ।

त्यसैगरी पोखरा फाइनान्सको ९ दशमलव ५८ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ५२ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ४१ प्रतिशत, पाँचथर पावरको ९ दशमलव २९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ११ प्रतिशत र सोल्टी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशतले घटेको हो ।

 

Spread the love