धितोपत्र बोर्डको निर्णयप्रति अर्थमन्त्रालय मौन

असार ३, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीबारे सार्वजनिक गरेको बिज्ञप्तीबारे अर्थमन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन ।
सेयरबजारको मुख्य नियामकले आफ्नो अधिकार प्रयोग गरेर बिज्ञप्ती निकालेकाले यसमा आफुहरुले केहिपनि नगर्ने अर्थमन्त्रालयले स्रोतले जनायो ।

धितोपत्र बोर्डले सार्वजनिक गरेको बिज्ञप्तीबारे अर्थ मन्त्रालय पूर्णरुपमा जानकार रहेको तर यसमा अर्थमन्त्रालयको कुनै टिप्पणी नभएको अर्थ स्रोतले जनाएको छ । सोही बमोजिम अहिलेसम्म अर्थ मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

धितोपत्र बोर्डले नियामकीय अधिकार प्रयोग गरेर बिज्ञप्ती निकालेको हो भन्ने अर्थको बुझाई छ, नियामकले आफ्नो कार्यक्षेत्र र अधिकारभित्र रहेर काम गर्ने भएकाले यसमा अर्थमन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने जानकारहरु बताउँछन् ।

धितोपत्र बोर्ड नियामक भएको र अर्थमन्त्रलाय अन्तर्गतका नियामकलाई नीतिले निर्देशित गर्ने प्रचलन छ । धितोपत्र बोर्ड स्वायत्त निकाय भएकोले अर्थले हस्तक्षेप गर्न नमिल्ने अर्थमन्त्रालयका अधिकारीहरुको भनाई छ ।

सेयरको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमध्ये ५१ वटा कम्पनी बिभिन्न आधारले जोखिमयुक्त भएको र यसमा लगानी जोखिमपूर्ण भएको भन्दै धितोपत्र बोर्डले हिजो एक बिज्ञप्ती सार्वजनिक गरेको थियो ।

कम्पनीको नामनै तोकेर लगानीको लागि जोखिमपूर्ण भनिएको बिषयलाई लिएर समग्र सेयरबजार र सरोकारवालाहरु दुई धारमा बाडिएका छन् । सोही कारणले अहिले शेयर बजारमा एक प्रकारको उथलपुथल ल्याएको छ ।

Spread the love