असार १४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि भोली मंगलबारसम्म मात्र सकिनेछ । भोलीदेखि आईपीओ खरिद प्रक्रिया बन्द हुने कम्पनीले जनाएको छ । गत असार ११ गते शुक्रवारदेखि जीवन विकासको आईपीओ खरिद गर्न सार्वजनिक निष्कासनमा आएको थियो ।
पहिलो दिनमै माग भन्दा ५ गुणा बढी आवेदन परेको उक्त कम्पनीले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागेको हो । छिटो अवधि असार १५ गतेसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले असार २५ गतेसम्म विक्री गर्ने मिति तय गरेको थियो ।
पहिलो दिनमै विकेको कम्पनीको आईपीओ खरीदका लागि आइतवार साझ ५ बजेसम्म १५ लाख १२ हजार ३९४ जनाले २ करोड ३० लाख ५४ हजार ३६० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बताएको छ । आइतवारसम्म भने मागभन्दा १२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएको शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि छुट्याईएको रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत दरको ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषको लागि सुरक्षित राखेको छ । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
नेप्सेले प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य पहिलो कारोबारका लागि तोक्ने हुदाँ कम्पनीले पहिलो कारोबारका लागि रू. ३०५ दशमलव २७ देखि रू. ९१५ दशमलव ८१ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
साथै मेरो शेयर सफ्टवेयर मार्पmत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको संस्थापक तर्फबाट मात्र चुक्ताभएको पूँजी रू. ४१ करोड ६ लाख ७० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ६० करोड ८४ लाख पुग्नेछ । कम्पनीको आईपीओ पश्चात संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणतर्फ कर्मचारी सहित ३२ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले रू. ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब १८ करोड ३९ लाख १० हजार छ । आर्थिक वर्ष ०७६÷ ७७ सम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५ दशमलव २७ रहेको छ भने प्रतिशेयर आम्दानी रू. १०४ दशमलव ९७ रहेको छ ।
