सरकारको अर्को सफलताः नेपालको कुटनीतिक सम्बन्ध स्थापना राष्ट्रको संख्या १७१ पुग्यो

असार १६, काठमाडौं । केपी ओली सरकारले नेपालको बाह्य राष्ट्रहरुसंग सम्बन्ध राख्ने सवालमा उल्लेख्य सफलता हांसिल गरेको छ ।

छिमेकी मित्र राष्ट्रसंग राम्रो सम्बन्ध बनाएको ओली सरकारले नयाँ देशसंग कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको हो ।

राससका अनुसार, नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच आज बुधबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको संक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गर्नुभएको उक्त नियोगले जनाएको छ । परराष्ट्रविदहरुले यसलाई ओली सरकारको कुटनीतिक सफलताको रुपमा हेरेका छन् ।

 

Spread the love