काठमाडौं–तराई द्रुतमार्ग पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

साउन १७, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजना अन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका  चिनियाँ कम्पनीका अधिकारीहरू नेपाल आएका छन् ।

दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पाेरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो ।

पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पाेरेशन लिमिटेडको अधिकारी बुधवार नेपालमा आएको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाको व्यवस्थापनमा निर्माणाधिन द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउने टोली असार ९ गते काठमाडौंमा आई हाल साइटमा खटिएको छ ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले चाइना स्टेटका २३ जनाको टोली आइसकेको र १० दिन क्वारेन्टाइनमा बसेपछि फिल्डमा खटिने जानकारी दिए ।

कारोना संक्रमणकै बीचमा कम्पनीको टोली नेपाल आएपछि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न थप सहजता हुने सेनाको विश्वास छ । दु्रतमार्गमा ती ३ स्थानमा सुरुङमार्ग र १६ ओटा जटिल खाले पुल निर्माणका लागि चिनियाँ २ कम्पनीसँग वैशाख ३१ ग्ते ठेक्का सम्झौता भइसकेको छ ।

द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किलोमीटर रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । नेपाली सेनाले इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) माध्यमबाट द्रुतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । सोहीअनुसार ती कम्पनीका अधिकारीले सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नेछन् ।

सेनाका अनुसार ६ महीनाभित्र यी कम्पनीले डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ । सेनाले रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्ग सहितका विशेष खालका पुल निर्माण गर्ने गरी यी २ चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । द्रुतमार्गमा बन्ने सुरुङमार्गसहित पुलको पहिलो प्याकेजको लागत रू. २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत रू. २८ अर्ब ५३ करोड छ ।

सेनाले गत आर्थिक वर्ष ०७७/७८ मा रू. ८ अर्ब ९६ करोड ८८ लाख बजेटमा वार्षिक प्रगति ९७ दशमलव ३४ प्रतिशत प्राप्त भएको उल्लेख गरेको छ । आयोजनाको कुल कार्य प्रगति भने १६ दशमलव २१ प्रतिशत रहेको छ भने वित्तीयतर्फ कुल १४ दशमलव ५१ प्रतिशत लक्ष्य प्राप्त भएको सेनाको भनाइ छ । गत आवमा आयोजना स्थलमा १४ ओटामध्ये ८ ओटा बेलिब्रिज जडान भई सञ्चालनमा आएका छन् ।

सेनाले पुल तथा सरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण अघि बढाएको छ । हालसम्म ९१ दशमलव ५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्पन्न भएको भन्दै सेनाले खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न उप–समिति गठन गरेको उल्लेख गरेको छ । सेनाले आयोजना स्थलमा रूख कटान भएअनुसार हालसम्म २ लाख ४९ हजार १६६ ओटा रूखका बिरुवा रोपिसकेको छ ।

 

 

Spread the love