अनुगमन निर्देशन पालना सन्तोष जनक छ : संयोजक डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उप प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक भएको अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्न अनुरोध गरेकी छिन् ।
अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा डंगोलले समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिएकी थिइन् ।


चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डंगोलले, नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदुषण मुक्त हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्दा आकाशे पानी संकलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमल पोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सीसीटिभी क्यामरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेश गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रुपमा विद्युतीय प्रणाली मात्रप्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेश गर्ने, वेरुजु फस्र्योटको कार्य योजना बनाउने लगायत विषय र क्षेत्रमा निर्देशन दिएकी थिइन् । यस्तै अनुगमन टोलीका काम अन्तरसम्बन्धित बनाउन उनको निर्देशन थियो ।
सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उनले विषयगत समितिका सदस्य सचिवहरुलाई प्रतिवेदन पेश गर्न निर्देशन दिइन् ।

Spread the love