अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल पोखरामा हुँदै

काठमाडौं । लयन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल २०८२ साल बैशाख १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिता पोखरा रंगशाला स्थित मल्टिपर्पोज हलमा खेलाइने डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए । पहिलो पटक पोखराको उक्त हलमा भलिबल खेल खेलाउने लागिएको हो ।
प्रतियोगितामा तीन विभागीय सहित नेपालबाट ४ र दुई विदेशी गरी ६ टिमले भागलिने अर्यालले जानकारी दिए । ‘नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तान भलिबल क्लब आउने पक्का भइसकेको छ । बाँकी एक टिमको लागि भारत र इरानका टोलीसँग सल्लाह भइरहेको छ ।’ अर्यालले भने ।
नेपालबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन् । यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लाम वादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ ।
यस्तै भारत र इरानमध्ये एक राष्ट्रको टिम आउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ट्रफि सहित ४ लाख ४४ हजार ४४४ प्राप्त गर्ने छन् । यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउने छन् भने विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

Spread the love