नाडा अटो शोमा गाडीका नयाँ मोडेल र विशेष अफरले तानिए अवलोकनकर्ता

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ ले नयाँ मोडेल, विशेष अफर र विद्युतीय गाडीहरूको प्रदर्शनका कारण दर्शकको चहल पहल बढाएको छ।
भदौ ८ गतेसम्मचल्ने प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पेट्रोल तथा ईभी सवारी साधन देख्न पाइन्छ।
शो का अवसरमा टाटा मोटर्सले आधिकारिक वितरक सिप्रदी ट्रेडिङ मार्फत नेक्सन पेट्रोल, टियागो ईभी, पन्च ईभी, कर्भ ईभी र नयाँ सफारी सार्वजनिक गरेको छ। कर्भ ईभी र सफारी अवलोकन कर्ताको आकर्षण बनेका छन् ।
टाटाले ईभी खरिद कर्ताका लागि आजीवन निःशुल्क चार्जिङ, तीन वर्षको निःशुल्क सर्भिसिङ, एक वर्षको बीमा र रोड ट्याक्स समेतको अफर दिएको छ।
त्यसैगरी नेपालका लागि सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्पले ३४ लाखदेखि १ करोड रुपैयाँसम्मका मोडेल सहित ‘पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।
यस अन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्म नगद छुट, एक वर्षको बिमा, ६ वर्षसम्म निःशुल्क पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेञ्ज बोनस र एसेसरिज पाउन सकिनेछ।
सेरेसले अटो शो अवधिभर मात्रै लागू हुने विशेष योजना ल्याएको छ। ३ वर्षको बीमा, ३ गुणासम्म नगद छुट र बुकिङ रकम बराबर फाइदा सहितको अफर मार्फत अधिकतम ६ लाख रुपैयाँसम्म लाभ लिन सकिनेछ। सेरेसले हालै लोमान्थाङसम्म ईभी चढाएर कीर्तिमान बनाएको उपलब्धि पनि प्रदर्शनीमा प्रस्तुत गरेको छ।
सन् २०५५ सालदेखि सुरु भएको नाडा अटो शो यसपालि १७औँ संस्करणमा पुगेको हो । यसअघि नेपाल अटोमोबाइलइम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सम्पन्न गरिसकेको छ।
दुई अटो शो बीच प्रतिस्पर्धा भएपनि नाडा अटो शोले आफ्नो आकर्षण कायम राख्न सफल भएको छ।
अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायतकार्यक्रमसमेत भइरहेका छन् ।
मंगलबारबाट सुरु भएको शो को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए ।
अटो शोमा रोबोट, दिपलको उड्ने कार लगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका छन् ।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन् । त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पाट्र्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।
शोमा मोसिर माइनर, प्युजो, मिनीकुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोला लगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनीमा छन् ।

Spread the love