नेपालको पर्यटन प्रवर्धन गर्न पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

काठमाडौँ । नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन् ।
यो पहलको केन्द्रमा #Lifetime Experiences रहेको छ, जुन क्रिएटाले लिड गर्ने एक अभियान हो र यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरुलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ ।
एनटीवी र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरूसँग सहकार्य गर्नेछन्, जस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएस त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ ।
अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाई टिकटकमार्फत् सार्वजनिक गर्नेछन्, जसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने प्रेरित गर्नेछ ।
एनटीबीले नेपाल भ्रमणमा आउने क्रिएटरहरुलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ । एनटीबीले अभियानका क्षण र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन् ।
स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ, जसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ ।
योसँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम -SMEs_ र पर्यटन व्यवसायीहरुलाई समेत आफ्नो उत्पादन तथा सेवाहरुलाई टिकटक मार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउने छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दिपकराज जोशीले भने ‘यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको छ ।
यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरूसँग जोड्न र अझै धेरै पर्यटकहरुलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौं ’ ।
टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले भने,‘नयाँ कुरा पत्ता लगाउने प्लेटफर्मका रूपमा परिचित टिकटक एउटा यस्तो प्लेटफर्म हो जहाँ विश्व समुदायले नयाँ गन्तव्यबारे तथ्यपरक जानकारी र विश्वसनीय सुझावहरू पाउँछन्। नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिन्छ र हामी एनटीबीसँग सहकार्य गरी नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित छौं ।’
२०२५ को बाँकी अवधिभरि चरणबद्ध रुपमा अघि बढ्ने यो सहकार्यमार्फत् टिकटकमा निरन्तर रूपमा क्रिएटर आकर्षण कन्टेन्टसँगै विशेष #VisitNepal  इन–एप एक्सपिरियन्स पनि उपलब्ध हुनेछ ।
अभियानको मुख्य यसै वर्ष काठमाडौँमा आयोजना हुने #VisitNepal हुनेछ जसमा क्रिएटर, पर्यटन सरोकारवाला र संस्कृतिको क्षेत्रका प्रतिनिधिहरु भेला भई नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रुपमा चिनाउने छन् ।

Spread the love