फागुन १७,काठमाडौं । सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सो जानकारी गराउनु भएको हो । सोमबार सिंहदरवारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अघिल्लो आर्थिक वर्षमा करिव ९ अर्ब रुपैयाँ मात्रै विदेशी सहयोग आएको स्मरण गराउनु भयो । मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालय बीचमा काम गर्ने सवालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्धर प्रणाली लागू गरिएको दावी गर्नु भयो । दातृ संस्थाहरुले मुलुकको लागि केही दिँदै छन भने हामीले अफठ्यारा झनझटिला प्रक्रियालाई हटाउन पर्ने उहाँको भनाई थियो ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद दिनानाथ शर्माले गैरसरकारी संस्थाहरुलार्य पारदर्शी बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । गैरसरकारी संस्थाहरुमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उहाँले नियमन गर्नु पर्ने बताउनु भयो । सांंसद शर्माले नेपालमा गैरसहकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबी समेत गर्नु भयो ।

त्यस्तै नेपाली कांग्र्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाजकल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले पछिल्लो चार महिनामा २९ अर्ब वैदशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गर्नु भयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरुको एकीन डाटा नभएको बताउनु भयो । गृह मन्त्रालयले त्यसको डाटा लिने काम गरेपनि नविकरण नगरी खारेज हुने संस्थाहरुका कारण सो काम पनि सफल हुन नसकेको उहाँले बताउनु भयो ।
उहाँले एक पटक दर्ता गर्ने तर नविकरण नगर्ने र फेरी अर्को नयाँ दर्ता हुने भएकाले अहिले कति यस्ता गैरसरकारी संस्थाहरु क्रियाशील भए/नभएको ठम्याउन कठिन रहेको स्मरण गराउनु भयो ।
