श्रम तथा रोजगार मन्त्रीसरद सिंह भण्डारीले वैदेशिक रोजगारको सिलसिलामा कुनै पनि प्रकारको सिन्डिकेट नरहने प्रतिबद्धता व्यक्त गरेका छन् । आईतबार काठमाडौंमा भएको वैदेशिक रोजगार महिला व्यवसायी संघको दोस्रो साधारण सभाको उद्घाटन मन्तव्यका क्रममा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । मलेसियाको सन्दर्भमा सरकार सरकारबीच दुईपक्षीय सम्झौता हुने कुरामा ढुक्क रहन व्यवसायीहरुलाई आग्रह गरे ।
नेपाल सरकारले केही दिनमै श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका मन्त्रीस्तरीय बैठक बसी वैदेशिक रोजगार मा देखापरेका समस्याहरू सम्बन्धमा समाधानका उपायहरु खोज्ने उनले बताए । उक्त बैठक पश्चात् मागपत्र प्रमाणीकरण सम्बन्धमा देखापरेको समस्या लगायतका विषयहरुमा सहजीकरण हुने छ । माननीय परराष्ट्र मन्त्रीको ओमान भ्रमण पश्चात वैदेशिक रोजगारका सन्दर्भमा सकारात्मक सन्देश गएको र यसले छिट्टै परिणाम दिने छ ।
सबै युवा विदेश गए नेपाल खाली भयो भन्ने भाष्य बजारमा आउने गरेको प्रति संकेत गर्दै उनले भने ९०% युवाहरु नेपालमै फर्केका छन् । वैदेशिक रोजगारमा गएका युवाहरुले केहीसिप,अनुभव र आर्थिक उपार्जन गरेर फर्केका छन् । यसबाट देशको अर्थतन्त्रमा योगदान पुगेको छ । वैदेशिक रोजगारमा जानेहरूका लागि ऋण दिने कार्यक्रम अन्तिम चरणमा रहेको र त्यसका लागि कार्यविधि बन्दै रहेको उनले बताए।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीहरूले खेप्नु परेको असुविधा समस्या सम्बन्धमा आफ्नो धारणा राखेका थिए । उनले कुनै पनि किसिमले सिन्डिकेट गर्न खोज्नेहरूलाई वैदेशिक रोजगार व्यवसायीहरूले परास्त गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै विभिन्न संघ संस्था, टाभल एजेन्सीबाट र निजी भ्रमणमा विदेश गएर ठगीमा परेकाहरूको अब्जस पनि वैदेशिक रोजगार व्यवसायीहरुले खेप्नु परेको प्रति दुःख व्यक्त गरे। यसप्रति सरकार र वैदेशिक रोजगार विभाग संवेदनशील हुन आग्रह गरे।