काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस(एनटीयुसी)ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण (मेडिकल) शुल्क बृद्धि गरिएकोप्रति आपत्ति जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक स्वास्थ्य परीक्षण शुल्कमा एकैपटक तीन हजार रुपैयाँले वृद्धि गरेपछि ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो ।
महासचिव अजय कुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दैमन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार पाँच सय रूपैयाँबाट एकै पटक नौ हजार पाँच सय रूपैयाँ बढाएकोप्रति आपत्ति जनाएका हुन् ।
‘हाल करिब ४० लाखभन्दा बढीनेपालीहरू विभिन्न देशहरूमा कार्यरत छन्। त्यसमध्ये अधिकांश खाडी मुलुकहरू (कतार, साउदी अरब, यूएई, कुवेत), मलेसिया, जापान, दक्षिण कोरिया र भारतमा छन्। साथै केहि संख्यामा अमेरिका, युरोपेलीदेशहरू र अष्ट्रेलियामा पनि नेपालीहरु रोजगारको सिलसिलामा पुगेका छन् । प्रत्येक वर्ष करिव ५ लाख नेपाली वैदेशिक रोजगारीका लागि देश छोड्छन् । विदेशमा काम गर्ने नेपालीहरूले पठाएको रेमिट्यान्सले नेपालको कुलगार्हस्थ्य उत्पादनको करिब २९ प्रतिशत हिस्सा ओगट्छ । उक्त रेमिट्यान्सले नै नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ,’विज्ञप्तिमा भनिएको छ ।
यता, सरकारले श्रमिकको स्वास्थ्य परीक्षण गुणस्तरीय बनाउने उद्देश्य सहित शुल्क समायोजन गरिएको जनाएको छ । मन्त्रालयले स्वास्थ्य परीक्षणगर्ने संस्थाहरुलाई तयारी गर्न निर्देशन दिँदै सूचना समेत प्रकाशित गरिसकेको छ ।