अपर चौरीखोला जलविद्युतमा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने

साउन १५, काठमाडौं । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई ओटा बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् ।

कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक बीच एक कार्यक्रम बीच सो सम्बन्धि सम्झौतामा बिहीवार हस्ताक्षर भएको हो ।

वित्तीय व्यवस्थापन सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्याय तथा कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

काभ्रे र सिन्धुपाल्चोक जिल्लाको बीचमा रहेको चौरीखोलामा बन्न लागेको छ मेगावाट क्षमताको उक्त आयोजनामा ती बैंकले संयुक्त लगानी गर्न लागेका हुन् । आयोजना १ अर्ब १२ करोड रुपैयाँ कुल लागतमा बन्नेछ ।

जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी ती बैंकले गर्ने छन् । ६५ प्रतिशतलाई १०० प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने छन् ।

हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले उक्त कम्पनीमा हुने लगानीले बैंकलाई जलविद्युत् क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए ।

राससका अनुसार, सो अवसरमा अर्का लगानीकर्ता कृषि विकास बैंकका सीईओ उपाध्यायले आफूहरुले प्रतिवद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए ।

 

 

Spread the love