हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । मन्त्रालयले अबदेखि १० लाख रुपैयाँसम्मका औषधि, सर्जिकल सामग्री र उपकरण खरिदमा पनि अनिवार्य रूपमा बोलपत्र प्रक्रिया अपनाउनुपर्ने ८८ व्यवस्था गरेको छ ।
यसअघि जिल्ला अस्पतालहरूले २० लाख रुपैयाँसम्मका सामग्री सिंधा खरिद गर्न सक्ने प्रावधानमा टेकेर महिनैपिच्छे टुक्रा–टुक्रा पारेर बिचौलियाको दबाबमा सामान खरिद गर्ने गरेको गुनासो बढेपछि मन्त्रालयले यो निर्णय गरेको हो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जिल्लाका अस्पतालहरूमा औषधि र उपकरण खरिदका क्रममा देखिएका बेथिति अन्त्य गर्न मन्त्रालयले यस्तो निर्देशन जारी गरेको बताए । उनका अनुसार केही बिचौलियाले नेताहरू र उच्च अधिकारीको नाममा दबाब दिँदै अस्पतालका निर्देशक र जनस्वास्थ्य प्रमुखलाई बारम्बार प्रभाव पार्ने प्रयास गर्दै आएका छन् ।
मन्त्रीका अनुसार यो निर्देशन प्रदेशका सबै १३ वटा जिल्ला अस्पतालमा लागू हुनेछ । मन्त्रालयले यसबारे लिखित परिपत्र पठाइसकेको छ ।
नयाँ व्यवस्था अनुसार, सबै खरिद प्रक्रिया पारदर्शी बनाउन बोलपत्र प्रणाली ( अनिवार्य गरिँदा व्यवसायीहरूबीच निष्पक्ष प्रतिस्पर्धा बढ्ने, गुणस्तरीय सामग्री प्राप्त हुने र बजेटको दुरुपयोग घट्ने मन्त्रालयको विश्वास छ ।