आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्छ ः ऊर्जा मन्त्री पम्फा भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत सेवा पुग्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताउनुभएको हो । उहाँले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताउनु भयो । उहाँले सिंचाईमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको जानकारी दिनुभयो ।
उहाँले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताउनु भयो । यसरी विद्युत थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उहाँले बताउनु भयो ।

Spread the love